
पोखरा।
१५ फाल्गुन।भर्खरै सार्वजनिक भएको ‘राष्ट्रिय मत सर्वेक्षण, २०८२’ ले नेपालका युवा पुस्ताको ठूलो हिस्सा मतदान प्रक्रियाभन्दा बाहिर रहेको देखाएको छ। कान्तिपुर र सेयरकास्ट इनिसिएटिभको सहकार्यमा गरिएको उक्त सर्वेक्षण अनुसार १८ देखि २० वर्ष उमेर समूहका ६३.८ प्रतिशत उत्तरदाता मतदाता सूचीमा दर्ता नै नभएको पाइएको छ।
नयाँ बालिग मतदाताहरू लोकतन्त्रको मेरुदण्ड मानिने भए पनि तथ्याङ्कले यो उमेर समूहमा मतदाता नामावली दर्ताप्रति उदासीनता वा पहुँचको कमी रहेको स्पष्ट पारेको छ।
उमेर बढ्दै जाँदा दर्ता दर बढ्यो
सर्वेक्षणको तथ्याङ्कलाई विश्लेषण गर्दा उमेर बढ्दै जाँदा मतदाता नामावलीमा छुट्नेहरूको संख्या घट्दै गएको देखिन्छ। १८-२० वर्षका ६३.८ प्रतिशत मतदाता सूची बाहिर हुँदा, २१ देखि २९ वर्ष उमेर समूहका २९.४ प्रतिशत उत्तरदाता सूचीमा छैनन्।
त्यस्तै, ३० देखि ३९ वर्ष उमेर समूहमा ९.२ प्रतिशत, ४० देखि ४९ वर्ष उमेर समूहमा ४.१ प्रतिशत नागरिक मात्र मतदाता सूचीमा छैनन्। ५० वर्षभन्दा माथिको उमेर समूहमा भने लगभग सबैजसो (९८ प्रतिशत भन्दा बढी) मतदाता सूचीमा समेटिएको देखिन्छ। ५०-५९ वर्षका १.२ प्रतिशत र ६० वर्ष माथिका १.३ प्रतिशत उत्तरदाता मात्र सूचीमा नभएको पाइएको छ।
के संकेत गर्छ यसले?
यो तथ्याङ्कले विशेषगरी वैदेशिक रोजगारी, अध्ययनका लागि विदेश पलायन वा बसाइँसराइ जस्ता कारणले युवाहरू मतदाता नामावली दर्ता प्रक्रियामा सहभागी हुन नसकेको संकेत गर्दछ। साथै, नयाँ पुस्तामा राजनीतिप्रतिको वितृष्णा वा प्रक्रियागत झन्झटले पनि नाम दर्ता नभएको हुन सक्ने विश्लेषण गर्न सकिन्छ।
आगामी निर्वाचनहरूमा युवा सहभागिता सुनिश्चित गर्न निर्वाचन आयोग र सरोकारवालाहरूले १८ देखि २९ वर्ष उमेर समूहलाई लक्षित गरी विशेष दर्ता अभियान चलाउनुपर्ने आवश्यकता यो सर्वेक्षणले औंल्याएको छ।
































