
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीले त्यहाँको नौसेना र वायुसेना पूर्ण रूपमा ध्वस्त पारेको दाबी गरेका छन् । ह्वाइट हाउसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको भेटअघि आयोजित पत्रकार सम्मेलनमा उनले इरानको हवाई निगरानी प्रणालीसमेत नष्ट गरिएको बताएका हुन् ।
अमेरिका–इजरायलले इरानमाथि आक्रमण थालेको चौथो दिन ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । यसैबीच इरानले होर्मुज जलडमरू बन्द गर्दै अमेरिकी तथा उसका सहयोगी मुलुकका लक्ष्यमा क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखेको छ ।
ट्रम्पले आणविक कार्यक्रमसम्बन्धी वार्ता अवरुद्ध भएपछि आफूले शनिबार आक्रमणको आदेश दिएको र इरानले पहिले हमला गर्ने संकेत पाएको दाबी गरे ।
यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुविओले इजरायल आक्रमणको तयारीमा रहेको जानकारी पाएपछि तथा इरानले क्षेत्रस्थित अमेरिकी संरचनामा प्रहार गर्न सक्ने आकलनका आधारमा अमेरिका अघि बढेको बताएका थिए ।


































