
खोटाङ — केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेँसीमा दुर्घटनाग्रस्त एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर त्रिपालले ढाकेर राखिएको छ। दुर्गम क्षेत्र भएकाले तत्कालै मर्मत वा उद्धार सम्भव नभएपछि हेलिकप्टरलाई अस्थायी रूपमा सुरक्षित राख्न त्रिपालले छोपिएको हो।
काठमाडौँबाट पाँच जना यात्रु बोकेर चैत ४ गते उक्त स्थानतर्फ आएको हेलिकप्टर अवतरण गर्ने क्रममा अचानक सन्तुलन गुमाउँदा दुर्घटनामा परेको स्थानीयले बताएका छन्। दुर्घटनापछि हेलिकप्टरमा सामान्यदेखि मध्यम क्षति पुगेको जनाइएको छ।
घटनामा सवार यात्रु तथा चालकदलका सदस्यहरू सकुशल रहेको प्रारम्भिक जानकारी छ भने विस्तृत विवरण आउन बाँकी रहेको छ। स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको सहयोगमा दुर्घटनास्थलको सुरक्षा व्यवस्थापन गरिएको छ।
दुर्गम भौगोलिक अवस्था र मौसमका कारण तत्कालै प्राविधिक टोली पुग्न कठिन भएकाले हेलिकप्टरलाई त्यहीँ सुरक्षित अवस्थामा राखिएको हो। सम्बन्धित निकायले प्राविधिक टोली पठाएर क्षतिको मूल्याङ्कन तथा आवश्यक मर्मत प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।



































