
९ फाल्गुन,रुपान्तरणमञ्च।
आयोजक सहारा क्लब पोखराले २५औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
सहारा क्लबले शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा जाउलाखेल युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै १२ वर्षपछि पुनः च्याम्पियन बन्न सफल भयो।
सहाराको जितमा मुकुन्द निउरे र ताय दिनियलले एक–एक गोल गरे। खेलको २५औं मिनेटमा निउरेले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ७३औं मिनेटमा दिनियलले गोल थप्दै अग्रता दोब्बर पारे र सहाराको जित सुनिश्चित गरे।
सहाराले यसअघि विसं २०७० सालमा उपाधि जितेको थियो। त्यसपछि लामो अन्तरालपछि फाइनलमा पुगेको सहाराले यसपटक अवसरलाई सदुपयोग गर्दै उपाधि उचाल्न सफल भयो।
उपाधिसँगै सहाराले १४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता जावलाखेलले ७ लाख १ हजार रुपैयाँमा चित्त बुझाएको छ।
पोखरेली दर्शकको उत्साहपूर्ण समर्थनबीच सम्पन्न फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो।


























