
काठमाडौँ । बामपन्थी विश्लेषक तथा कूटनीतिक एवं अन्तर्राष्ट्रिय मामिलाका जानकार गोविन्दराज केसी ले नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले परम्परागत संगठन विस्तार र पहुँचका आधारमा मात्र राजनीति अघि बढाउन खोज्दा नयाँ यथार्थ बुझ्न नसकेको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै केसीले एमालेले गाउँदेखि शहरसम्म विद्यालय व्यवस्थापन, विद्युत, खानेपानी, यातायात, वन, सहकारी तथा कृषि–पशुपालन जस्ता क्षेत्रमा व्यापक रूपमा जनतालाई संगठित गर्दै सहयोग पुर्याएको उल्लेख गरेका छन्। बाढी–पहिरो पीडितलाई तारजाली, खानेपानी पाइप वितरणदेखि घरघरमा कच्ची मोटरबाटोसम्म पुर्याउने काम पार्टीले गरेको उनको भनाइ छ।
त्यस्तै, सरुवा–बढुवा तथा रोजगारी व्यवस्थापनमा समेत पार्टीको प्रभाव देखिएको उनले उल्लेख गरेका छन्। स्थानीय तहमा विवाद उत्पन्न हुँदा मध्यस्थता गर्ने वा दुवै पक्षलाई प्रभावमा ल्याउने रणनीति समेत अपनाइएको उनको दाबी छ। समाजका केही आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई समेत संरक्षण गरिएको आरोप उनले लगाएका छन्।
तर यस्ता गतिविधिले दीर्घकालीन रूपमा विधि र संस्थागत प्रणाली निर्माणमा सहयोग नगरेको केसीको निष्कर्ष छ। “सहयोग, काम र आर्थिक सहयोग मात्र पर्याप्त हुँदैन, विधि बसाल्न नसक्दा दण्डहीनता बढ्छ,” उनले उल्लेख गरेका छन्।
केसीका अनुसार एमालेले आधुनिक राजनीतिक परिवेशमा डिजिटल प्रविधिको प्रभावलाई पनि कम आँकलन गरेको छ। एआई र एल्गोरिदममार्फत फैलिने भ्रामक सूचनाले मतदातालाई प्रभाव पार्ने भए पनि पार्टीले त्यसलाई गम्भीर रूपमा नलिएको उनको भनाइ छ।
यस्तै, श्रम आप्रवासन र डायस्पोराको बढ्दो प्रभावले नेपाली समाजको वर्गीय संरचना परिवर्तन गरिरहेको उल्लेख गर्दै त्यसले चुनावी परिणाममा पार्ने असरको उचित मूल्यांकन हुन नसकेको उनले बताएका छन्। अघिल्ला निर्वाचनमा प्रभावकारी देखिएको डेटा विश्लेषण यसपटक प्रभावकारी हुन नसकेको समेत उनको टिप्पणी छ।
अन्त्यमा केसीले बदलिँदो सामाजिक, आर्थिक र डिजिटल यथार्थलाई नबुझेसम्म परम्परागत संगठन र पहुँच मात्रले राजनीतिक सफलता सुनिश्चित नहुने निष्कर्ष निकालेका छन्।































