
काठमाडौं — बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले सहकारीका साना बचतकर्ताको बचत फिर्ता प्रक्रिया १०० दिनभित्र सुरु गर्ने जनाएको छ।
शासकीय सुधारका लागि सार्वजनिक गरिएको १०० कार्यसूचीअन्तर्गत सरकारले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो। सार्वजनिक कार्यसूचीको ९९ नम्बर बुँदामा साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया निर्धारित समयभित्र अघि बढाइने उल्लेख गरिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो भने ती कार्यसूचीहरू शनिबार साँझ सार्वजनिक गरिएको हो।
सरकारको यो निर्णयले सहकारीमा बचत गरेर समस्यामा परेका सर्वसाधारणलाई राहत पुग्ने अपेक्षा गरिएको छ। लामो समयदेखि बचत फिर्ता नपाउँदा प्रभावित बनेका साना बचतकर्ताका लागि यो कदम महत्वपूर्ण मानिएको छ।
यद्यपि, रकम फिर्ता प्रक्रिया कसरी सञ्चालन गरिने, स्रोत व्यवस्थापन र कार्यान्वयन मोडालिटीबारे विस्तृत योजना भने आउन बाँकी रहेको छ।































