
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा आफू सहभागी कार्यक्रममा भएको घटनासम्बन्धी सामाजिक सञ्जालमा सार्वजनिक भएको छोटो भिडियोले वास्तविक सन्दर्भलाई बंग्याएको दाबी गरेका छन्।
मन्त्री पोखरेलका अनुसार सिरहा र सप्तरीमा आयोजित कार्यक्रममा एक सयभन्दा बढी सरोकारवालाको सहभागिता थियो। कार्यक्रममा केही व्यक्तिले हल्ला गरेपछि त्यसको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको र छोटो क्लिपका आधारमा घटनाको फरक अर्थ लगाइएको उनको भनाइ छ।
उनले शिक्षा क्षेत्रको सुधारका लागि सरोकारवालासँग निरन्तर छलफल र सुझाव संकलन भइरहेको बताए। राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को परिमार्जन, ‘बुक फ्री फ्राइडे’ तथा ‘स्किल इन एजुकेसन’ लगायतका विषयमा आवश्यक सुझाव लिएर अघि बढ्ने उनको भनाइ छ।
मन्त्री पोखरेलले शिक्षा सुधारका लागि सरकारले अघि सारेका प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै जनताले आफ्नो कामको मूल्याङ्कन गर्ने बताए।
उनले सामाजिक सञ्जालमा सार्वजनिक हुने छोटा भिडियोका आधारमा मात्रै घटनाको निष्कर्षमा पुग्न नहुने संकेत गर्दै सम्पूर्ण घटनाको सन्दर्भ बुझ्न आवश्यक रहेको बताएका छन्।






























