
गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ उर्फ दिपक मनाङे कारागारबाट रिहा भएका छन् । ज्यान मार्ने उद्योग मुद्दामा जेल सजाय भुक्तान गरेपछि उनी बुधबार रिहा भएका हुन् ।
डिल्लीबजार कारागार प्रशासनका अनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि मनाङेलाई बुधबार रिहा गरिएको हो । गुण्डा नाइके चक्रे मिलनमाथि २०६१ सालमा महाराजगञ्जमा खुकुरी प्रहार गरेको अभियोगमा अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । सोही मुद्दामा बाँकी रहेको सजाय भुक्तान गरेपछि उनी जेलबाट मुक्त भएका हुन् ।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा मनाङ जिल्ला, प्रतिनिधिसभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा मनाङे निर्विरोध निर्वाचित भएका थिए ।
तर उनीविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलिरहेको थियो । उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो, जसविरुद्ध उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।
अन्तिम फैसलाबाट दोषी ठहर भएपछि उनी प्रदेशसभा सदस्य पदमा रहिरहन अयोग्य ठहरिएका थिए । साथै, उनलाई ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न पनि अयोग्य ठहर गरिएको थियो ।


































