
धादिङमा भएको बस दुर्घटनाको विषयमा सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार बिहान गृह मन्त्रालयमा आयोजित सरोकारवालाको बैठकले यस सम्बन्धमा समिति बनाउने सहमति जुटाएको हो।
गृह मन्त्रालयकी सूचना अधिकारी उपसचिव रमा आचार्य सुवेदीका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव, भौतिक तथा यातायात पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी महासंघ तथा मजदुर संघका प्रतिनिधिहरू सहभागी थिए।
समितिमा को–को सदस्य रहने भन्ने विषयमा भने अहिलेसम्म टुंगो लागेको छैन। बैठकमा घाइतेहरूको उद्धारलाई प्रभावकारी बनाउने, दोषीमाथि कारबाही गर्ने तथा पीडितलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको जानकारी दिइएको छ।

































