
काठमाडौँ । सर्वोच्च अदालत ले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमल को नाम कालोसूचीमा नराख्न कर्जा सूचना केन्द्र का नाममा अन्तरिम आदेश जारी गरेको छ।
धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनेका साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन आयोग ले उनको उम्मेदवारी खारेज गरेको थियो। सो निर्णयविरुद्ध उनले सर्वोच्चमा रिट दायर गरेका थिए।
न्यायाधीश शारङ्गा सुवेदी को एकल इजलासले कालोसूचीबाट नाम हटाउन अन्तरिम आदेश दिएसँगै साहको उम्मेदवारी कायम रहने बाटो खुलेको अधिवक्ता दिपेन्द्र झाले बताएका छन्।
निर्वाचनको दुई दिनअघि मात्रै निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेको थियो। तर धनुषा–१ मा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ मा उल्लेख्य मत परेको थियो। यस क्षेत्रबाट भने आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मात्रिका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ।




































