
२८ फागुन, पोखरा। नेकपा (एमाले) कास्कीका इन्चार्ज तथा पूर्व पोखरा मेयर कृष्ण थापाको निधन भएको छ।
हृदयघात भएपछि उनलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा भर्ना गरिएपछि उपचारकै क्रममा उनको निधन भएको एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले पुष्टि गरेका छन्। अस्पताल स्रोतले पनि थापाको निधन भएको जानकारी दिएको छ।
कास्की जिल्ला कमिटीले बिहीबार चुनावी समीक्षा बैठक बोलाएको थियो। सोही बैठकका क्रममा थापा अचानक ढलेका थिए। त्यसपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।
थापा २०५४ सालमा पोखराको मेयरमा निर्वाचित भएका थिए। २०७४ सालमा उनी गण्डकी प्रदेशसभा सदस्य बनेका थिए भने २०७९ सालको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनेका थिए, तर पराजित भएका थिए।
यसपटकको निर्वाचनमा पनि उनले टिकट प्राप्त गरेका थिए। तर पछि उक्त टिकट रश्मी आचार्यलाई दिइएको थियो।
कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष समेत रहेका थापा जनआन्दोलनपछि एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत बनेका थिए।




































