
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई सडक र फुटपाथमा किताब नबेच्न आग्रह गरेका छन् । मेयर आचार्यले आज सामाजिक सञ्जालमार्फत महावीर पुनलाई सो आग्रह गरेका हुन् ।
दर्ता वा अनुमतिबिना कुनै पनि वस्तुको बिक्रीवितरण गर्नु कानुनी रूपमा जटिल हुने मेयर आचार्यको भनाइ छ ।
‘बिना दर्ता वा आवश्यक अनुमति कुनै पनि वस्तुको बिक्रीवितरण गर्नु कानुनी रूपमा जटिल हुन सक्छ भन्ने कुरा तपाईंलाई अवगत नै छ’, आचार्यले भने, ‘पछिल्ला केही दिनमा सडकमा उभिएर पुस्तक बिक्री गर्दा यातायातमा असहजता भएको तथा केही अनावश्यक सवाल–जवाफ भएको देखिएको छ, जुन तपाईं जस्तो सम्मानित व्यक्तित्वलाई सुहाउने अवस्था होइन ।’
उनले आवश्यकता परेको खण्डमा स्टक रहेका सबै किताब बेच्न पुस्तक व्यवसायी महासंघमार्फत पहल र सहजीकरण गर्ने समेत बताएका छन् ।
































