
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन्।
मोदीले सोमबार रास्वपा सभापति रवि लामिछाने र शाहलाई टेलिफोनमार्फत बधाई दिएको प्रसंग उल्लेख गर्दै ट्वीट गरेपछि बालेनले त्यसमा प्रतिक्रिया दिएका हुन्।
जवाफमा बालेनले नेपाल–भारतबीच रहेको ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेका छन्।
उनले लेखेका छन्, “नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु।”
यसैसँगै उनले लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई पनि दिएका छन्।
यसअघि रास्वपा सभापति रवि लामिछानेले पनि मोदीको ट्वीटमा प्रतिक्रिया दिँदै धन्यवाद व्यक्त गरिसकेका छन् भने बालेनले आज जवाफ दिएका हुन्।




































