
२६ फाल्गुन पोखरा :
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामअनुसार गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यधिक बहुमतसहित विजय हासिल गरेको छ। प्रदेशका १८ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १५ क्षेत्रमा जित हात पारेको छ भने नेकपा (एमाले) र नेकपा कुनै पनि क्षेत्रमा विजयी हुन सकेनन्। यससँगै गण्डकीबाट दुवै कम्युनिष्ट दलको प्रतिनिधित्व शून्य बनेको छ।
विसं २०७९ को निर्वाचनमा गण्डकीबाट एमालेले पाँच र नेकपाले दुई सिट जितेका थिए। त्यसैगरी अघिल्लो चुनावमा १० क्षेत्रमा विजयी बनेको नेपाली कांग्रेस यसपटक भने दुई सिटमा सीमित भएको छ। २०७९ को निर्वाचनमा बागलुङ–१ बाट विजयी बनेको राष्ट्रिय जनमोर्चाका उम्मेदवारको यसपालि जमानत नै जफत भएको छ।
यसपटक म्याग्दी, मुस्ताङ र मनाङबाहेकका अधिकांश जिल्लामा रास्वपाले जित निकालेको हो। म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बनेका छन् भने मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली र मनाङबाट कांग्रेसकै टेकबहादुर गुरुङ विजयी भएका छन्।
प्रदेश राजधानी रहेको कास्कीका तीनै क्षेत्रमा रास्वपा विजयी भएको छ। कास्की–१ मा खड्कराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ निर्वाचित भएका छन्। बागलुङका दुवै क्षेत्रमा पनि रास्वपाले जित हासिल गरेको छ। बागलुङ–१ मा सुशील खड्का र बागलुङ–२ मा सोम शर्मा विजयी भएका छन्।
त्यसैगरी स्याङ्जाका दुवै क्षेत्रमा रास्वपा उम्मेदवार विजयी भएका छन्। स्याङ्जा–१ बाट धनञ्जय रेग्मी र स्याङ्जा–२ बाट झविलाल डुम्रे संसद्मा पुगेका छन्। तनहुँका दुवै क्षेत्रमा पनि रास्वपाले विजय हात पारेको छ। तनहुँ–१ मा स्वर्णिम वाग्ले र तनहुँ–२ मा श्रीराम न्यौपाने विजयी भएका छन्।
नवलपुरका दुवै क्षेत्रमा पनि रास्वपाकै उम्मेदवार विजयी भएका छन्। नवलपुर–१ मा राजन गौतम र नवलपुर–२ मा मनिष खनाल निर्वाचित भएका छन्। लमजुङमा रास्वपाका धर्मराज केसी विजयी भएका छन् भने पर्वतबाट सागर भुसाल संसद्मा पुगेका छन्।
गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जित हासिल गरेको छ। गोरखा–१ मा सुदन गुरुङ र गोरखा–२ मा कविन्द्र बुर्लाकोटी विजयी भएका छन्।
यस परिणामसँगै गण्डकी प्रदेशमा रास्वपाले अभूतपूर्व राजनीतिक प्रभाव स्थापित गरेको विश्लेषण गरिएको छ।





































