
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागू गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ आज राति १२ बजेदेखि निष्क्रिय हुने जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार गत माघ ४ गते राति १२ बजेदेखि लागू गरिएको आचारसंहिता आज रातिदेखि लागू नहुने निर्णय गरिएको हो। आयोगले आज जारी गरेको विज्ञप्तिमा उक्त आचारसंहिताको अवधि समाप्त हुने जानकारी दिइएको छ।
गत माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन तथा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १ को उपदफा (२) अनुसार आचारसंहिता लागू गरेको थियो।
आयोगको माघ ४ गतेको निर्णयअनुसार सोही दिन राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि आचारसंहिता लागू गरिएको थियो। आयोगले आज सार्वजनिक गरेको विज्ञप्तिअनुसार उक्त आचारसंहिता आज राति १२ बजेदेखि निष्क्रिय हुने भएको हो।




































