
काठमाडौं । छिटपुट घटनाबाहेक देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। केही स्थानमा सामान्य विवादका घटना भए पनि अधिकांश क्षेत्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।
निर्वाचन आयोगका अनुसार मतदान कति प्रतिशत भयो भन्नेबारे विवरण संकलन भइरहेको छ। आयोगले केही बेरमा पत्रकार सम्मेलन गरेर मतदानसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।
२३ र २४ भदौमा भएको ‘जेन–जी आन्दोलन’पछि गठन भएको नागरिक सरकारले २१ फागुन अर्थात् आजका लागि निर्वाचनको मिति घोषणा गरेको थियो। मतदानको दिन आउनु केही समयअघिसम्म पनि चुनाव हुन्छ कि हुँदैन भन्ने संशय कायम थियो।
तर देशभर शान्तिपूर्ण रूपमा मतदान गराएर सुशीला कार्की नेतृत्वको नागरिक सरकारले आफूले पाएको मुख्य जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ।
मतदान सकिएसँगै अब मतपेटिका संकलनको काम सुरु हुनेछ। मतपेटिका संकलनपछि मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार मतपेटिका छिट्टै संकलन हुन सक्ने स्थानमा आजै मतगणना सुरु गरिनेछ।
गणना सुरु भएको २४ घण्टाभित्र अधिकांश स्थानको नतिजा सार्वजनिक हुने आयोगको दाबी छ। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सिटका लागि निर्वाचन भएको हो।


































