
काठमाडौँ । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतपत्र हराएपछि मतदान अवरुद्ध भएको छ।
बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएसँगै मतदान केन्द्रमा खटिएका कर्मचारीमाथि एक समूहले हातपात गर्ने प्रयास गरेपछि विवाद सुरु भएको थियो। त्यसपछि उत्पन्न विवाद अझै समाधान हुन सकेको छैन।
सर्वदलीय बैठकले मतदान सुरु गर्ने सहमति गरे पनि मतदानस्थलबाट ५६ बुक मतपत्र गायब भएको पुष्टि भएपछि मतदान प्रक्रिया रोकिएको छ। हराएको मतपत्रको खोजी भइरहेको दोलखामा निर्वाचन गराउन खटिएका एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन्।
निर्वाचन आयोगका कर्मचारी र सुरक्षाकर्मीहरूले हराएको मतपत्रलाई मुचुल्का गरेर गणनामा नसमेट्ने गरी मतदान सुरु गर्न आग्रह गरे पनि दलका प्रतिनिधिहरूले त्यसलाई अस्वीकार गरेका छन्। विवादमा नेपाली कांग्रेस र एमालेका कार्यकर्ता संलग्न रहेको बताइएको छ।
मतदान सुरु भएको केही समयपछि नै कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउन्ड हवाई फायरसमेत गरेको थियो। अहिले पनि उक्त मतदान केन्द्रमा तनावपूर्ण अवस्था रहेको छ।
k


































