
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको निष्कर्ष निकालेको छ।
राष्ट्रिय सुरक्षा परिषद्को आज सिंहदरबारमा बसेको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको जनाएको हो। बैठकको अध्यक्षता प्रधानमन्त्री सुशीला कार्कीले गर्नुभएको थियो।
रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार बैठकले मुलुकभर शान्ति–सुरक्षा र अमनचयन कायम राख्न सम्बन्धित सुरक्षा निकायलाई थप प्रभावकारी तथा समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय गरेको छ। निर्वाचन अवधिमा संवेदनशील क्षेत्रको विशेष निगरानी, सुरक्षा संयन्त्रबीच समन्वय र द्रुत प्रतिक्रिया टोली परिचालनलाई प्राथमिकता दिने विषयमा छलफल भएको जनाइएको छ।
बैठकमा राष्ट्रिय सुरक्षाका विविध चुनौती, राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रमले पार्न सक्ने प्रभाव तथा भावी रणनीतिका विषयमा समेत विचार–विमर्श भएको थियो।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रमन्त्री बालानन्द शर्मा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, मुख्यसचिव सुमनराज अर्याल तथा प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए।
परिषद्को निष्कर्षअनुसार निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाइएको छ।






























