
२० फाल्गुन, पोखरा । कास्कीमा मतदान सम्पन्न भएसँगै मतपेटिका निर्वाचन अधिकृतका कार्यालयमा पुगेको दुई घण्टाभित्र मतगणना सुरु गर्ने तयारी गरिएको छ। मतगणना सुरु भएपछि २४ घण्टाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे ले जानकारी दिए।
उनका अनुसार प्रतिनिधि सभा निर्वाचनअन्तर्गत क्षेत्र नम्बर १ को मतगणना पोखरा महानगरपालिका वडा नं. १२ स्थित कार्यालयमा हुनेछ। क्षेत्र नम्बर २ को मतगणना सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तथा क्षेत्र नम्बर ३ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ।
मतगणनास्थललाई तारजालीले व्यवस्थित गरी सिसिटिभीमार्फत निगरानी गर्ने व्यवस्था मिलाइने बताइएको छ। हाल मतगणना स्थल निर्माण र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
मुख्य निर्वाचन अधिकृत बेलबासेले मतदाता नामावलीमा नाम भएका कारागारमा रहेका कैदीबन्दी तथा निर्वाचनमा नखटिएका सरकारी कर्मचारीका लागि दुई अस्थायी मतदान केन्द्र स्थापना गरिएको जानकारी दिए। साथै, मतदान केन्द्रमा खटिएका कर्मचारीले आफू खटिएको केन्द्रबाट समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको छ।
अधिकांश मतदान स्थल विद्यालयमा राखिएको भए पनि केही स्थानमा भवन अभावका कारण टेन्टको व्यवस्था गरिएको छ। उनले मतदातालाई निर्धक्क भएर मतदान गर्न र कर्मचारीलाई सहयोग गर्न आग्रह गरेका छन्।
प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपाने का अनुसार तीनवटै निर्वाचन क्षेत्रमा गरी २ हजार १८४ कर्मचारी र १ हजार ९२ स्वयंसेवक परिचालन गरिएको छ।
कास्कीमा कुल १५३ मतदान स्थल र ३६३ मतदान केन्द्र रहेका छन्। मतदाता सङ्ख्याको चापलाई ध्यानमा राखी केन्द्र निर्धारण गरिएको हो। निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार क्षेत्र नम्बर १ मा १ लाख १६ हजार ८७८, क्षेत्र नम्बर २ मा ८४ हजार १३४ र क्षेत्र नम्बर ३ मा १ लाख ७ हजार ५६० मतदाता रहेका छन्।
१५३ मतदान स्थलमध्ये ५६ अति संवेदनशील, ५४ संवेदनशील र ४३ सामान्य सूचीमा राखिएका छन्।
निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेत का अनुसार १ हजार ५७ जना नेपाल प्रहरी र २ हजार ८ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ। सुरक्षाका लागि १२ मोबाइल टोली खटाइनेछन्—पोखरा महानगरमा ४ र प्रत्येक गाउँपालिकामा २ टोली रहने व्यवस्था गरिएको छ।


































