
पोखरा। प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा मौन अवधिमा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबै सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ।
काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले एक सूचना जारी गर्दै मौन अवधिमा कुनै पनि किसिमका प्रचारात्मक सामग्री प्रकाशन वा प्रसारण नगर्न आग्रह गरेका हुन्।
काउन्सिलले राजनीतिक दल तथा उम्मेदवारसँग सम्बन्धित प्रचार सामग्री, सभा–सम्मेलनका समाचार, तस्बिर, चुनाव चिन्ह अंकित सामग्री, श्रव्य–दृश्य सामग्रीलगायत कुनै पनि प्रकारका प्रचारात्मक विषयवस्तु सार्वजनिक नगर्न स्पष्ट निर्देशन दिएको छ।
२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल तथा उम्मेदवारले प्रचार गर्न पाउने समय आज राति १२ बजेसम्म मात्र रहेको र त्यसपछि मौन अवधि सुरु हुने काउन्सिलले जनाएको छ। मौन अवधिमा निर्वाचनको स्वच्छता, निष्पक्षता र मर्यादा कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा काउन्सिलले जोड दिएको छ।


































