
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही हप्ता हुने प्रतिनिधिसभा चुनाव र वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै मतदातालाई सचेत र जिम्मेवार बन्न आह्वान गरेका हुन्।
भिडियो सन्देशमा ओलीले देश अहिले कठिन मोडमा उभिएको उल्लेख गर्दै मतदान गर्दा गम्भीरतापूर्वक निर्णय लिनुपर्ने बताएका छन्। उनका अनुसार यो चुनाव सामान्य दलगत प्रतिस्पर्धा नभई “देश बनाउने र जलाउनेबीचको चुनाव” हो।
“आज हामीलाई आफ्नो स्वाभिमान नझुक्ने ग्यारेन्टी चाहिएको छ,” ओलीले भने, “त्यस ग्यारेन्टीका लागि ‘देश पहिले’ भन्ने भावना आवश्यक छ। अहिलेको चुनाव पार्टी–पार्टीबीचको होइन, देश जलाउने र बनाउनेमध्ये कसलाई रोज्ने भन्ने चुनाव हो।”
ओलीले देशको भूमि र जनतालाई सर्वोपरि राख्नुपर्नेमा जोड दिँदै संविधानको रक्षा अपरिहार्य रहेको बताए। “संविधान बचे मात्रै तपाईंको अधिकार बच्छ। बोल्ने–बाँच्ने, न्याय पाउने र आफ्नो मतको अधिकार सुरक्षित हुन्छ,” उनले भने, “आज हामीलाई संविधान नहिल्लने र अधिकार नकुल्चिने ग्यारेन्टी चाहिएको छ। त्यसका लागि देश पहिले भन्ने भावना अनिवार्य छ।”
उनको सन्देशले आसन्न निर्वाचनलाई राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र राजनीतिक स्थायित्वसँग जोड्दै मतदातालाई निर्णायक भूमिका निर्वाह गर्न आग्रह गरेको छ।


































