
काठमाडौं, फागुन १७ — अमेरिकी सेनाको मध्यपूर्व कमाण्ड (सेन्टकम)ले इरानमाथि सञ्चालन गरिएको सैन्य कारबाही अझै जारी रहेको जनाएको छ। सेन्टकमले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा इरानी पक्षलाई पहिले नै चेतावनी दिइएको र हाल निर्देशनअनुसार द्रुत तथा निर्णायक कदम चालिँदै आएको उल्लेख गरेको छ।
अमेरिकी पक्षले उक्त सैन्य अभियानलाई ‘अपरेसन एपिक फ्युरी’ नाम दिएको छ। यसअन्तर्गत इरानका सैन्य पूर्वाधार, हवाई प्रतिरक्षा प्रणाली, साथै मिसाइल र ड्रोन प्रक्षेपण स्थलहरूलाई लक्षित गरिएको जनाइएको छ।
अमेरिकाले यो कारबाहीलाई आफ्ना नागरिकको सुरक्षा तथा क्षेत्रीय स्थायित्व कायम राख्ने प्रयासका रूपमा व्याख्या गरेको छ। प्रारम्भिक हमलापछि इरानबाट सयौँ मिसाइल र ड्रोनमार्फत जवाफी आक्रमण भएको दाबी पनि गरिएको छ।
यद्यपि, हालसम्म अमेरिकी सेनातर्फ कुनै मानवीय क्षति नभएको जानकारी सेन्टकमले दिएको छ।






























