
जेनजी अभियन्ता रक्षा बमले निर्वाचन आयोगको निर्देशनविपरीत सवारी साधनको ‘सनरुफ’ (Sunroof) बाट बाहिर निस्केर चुनावी प्रचार भइरहेको भन्दै आपत्ति जनाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत आयोगले स्पष्ट निर्देशन दिँदादिँदै पनि केही उम्मेदवारहरूले त्यसको बेवास्ता गरिरहेको बताएकी हुन्।
बमका अनुसार उक्त नियम कुनै व्यक्ति वा दलविशेषलाई लक्षित गरेर बनाइएको होइन। “यो नियम कसैको प्रचार रोक्नलाई बनाइएको होइन, यो मुख्य रूपमा उम्मेदवारकै सुरक्षाका निम्ति हो,” उनले लेखेकी छन्, “यसले सार्वजनिक अनुशासन कायम राख्न र समर्थकहरूको सुरक्षाबोधलाई पनि सुनिश्चित गर्छ।”
उनले वर्तमान संवेदनशील राजनीतिक परिवेशमा निर्वाचन बिथोल्न एउटै गैरजिम्मेवार कदम पर्याप्त हुने चेतावनी दिँदै उम्मेदवारहरूलाई अझ बढी जिम्मेवार र सजग बन्न आग्रह गरेकी छन्। चुनावी प्रचारमा उत्साह स्वाभाविक भए पनि त्यसलाई संयम र आचारसंहिताभित्र राखेर प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ।
पछिल्लो समय निर्वाचन आयोग ले सवारी साधनको सनरुफबाट बाहिर निस्केर गरिने प्रचारलाई आचारसंहिता विपरीत र सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण मान्दै त्यसो नगर्न निर्देशन दिएको छ। आयोगले सार्वजनिक सुरक्षा, यातायात अनुशासन तथा सम्भावित दुर्घटना न्यूनीकरणलाई ध्यानमा राख्दै यस्तो व्यवस्था लागू गरेको जनाएको छ।


































