
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी छाडेको घोषणा गरेका छन्। टिकट वितरण प्रक्रियाप्रति सुरुदेखि नै असन्तुष्ट रहँदै आएका उनले बिहीबार सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको सार्वजनिक गरेका हुन्।
राजु राईले आफ्नो अभिव्यक्तिमा राजनीति इमानदार र सोझा व्यक्तिका लागि उपयुक्त नभएको उल्लेख गरेका छन्। उनले लेखेका छन्,
‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ। आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन।’
साथै उनले अब स्वतन्त्र नागरिकको रूपमा समाज सेवामा सक्रिय रहने बताएका छन्।
राजु राई २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले १० हजार ९ सय ४१ मत प्राप्त गरेका थिए। त्यही क्षेत्रमा रास्वपाले समानुपातिकतर्फ १५ हजार ८ सय ६४ मत ल्याएको थियो।
पोखरामा सक्रिय राजनीतिक व्यक्तित्वका रूपमा चिनिएका राईको पार्टी परित्यागसँगै कास्कीमा रास्वपाको आन्तरिक अवस्था र आगामी राजनीतिक समीकरणबारे चासो बढेको छ।


































