
काठमाडौँ, १४ फागुन – पूर्व प्रधानमन्त्री तथा कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झापा क्षेत्र नम्बर ५ मा कुनै पनि राजनीतिक दलसँग चुनावी सहकार्य नहुने स्पष्ट पारेका छन्।
बिहीबार झापा–५ का उम्मेदवार रन्जित तामाङसँग टेलिफोन संवाद गर्दै प्रचण्डले सामाजिक सञ्जालमार्फत फैलाइएका गठबन्धनसम्बन्धी हल्लालाई विश्वास नगर्न आग्रह गरेका हुन्। उनले कार्यकर्तालाई भ्रममा नपरी दृढताका साथ चुनावी अभियानमा सक्रिय हुन निर्देशन दिएको तामाङले बताए।
तामाङका अनुसार प्रचण्डले फोनवार्तामा झापा–५ मा कुनै दलसँग गठबन्धनको छलफल नभएको र भविष्यमा पनि नहुने स्पष्ट पारेका थिए। “अध्यक्षज्यूले बजारमा चलेको हल्ला निराधार भएको बताउनुभयो। हामी आफ्नै शक्तिमा चुनाव लड्ने र मजबुत रूपमा अघि बढ्ने भन्नुभएको छ,” तामाङले भने।
झापा–५ मा सहकार्य हुने चर्चा चलिरहेका बेला प्रचण्डको यो भनाइले पार्टीभित्रको अन्योलता हटाएको नेताहरूको भनाइ छ।


































